१६ आश्विन २०८१, बुधबार

अन्तराष्ट्रिय महिला दिवस बारे केहि जानकारी

Khabarsabaiko आइतबार, फाल्गुण २५, २०७६

महिलाले सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृतिक सहितका विभिन्न क्षेत्रमा झेल्नु परेका समस्या र त्यसको अवस्थाका बारेमा वकालत गर्ने उद्देश्य अन्तराष्ट्रिय महिला दिवसको हो । हरेक वर्ष यहि उद्देश्यसहित विश्वभर मार्च ८ का दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाईन्छ ।यो एक शताब्दीभन्दा अघिदेखि संसारभरीका मानिसहरुले विशेष दिनको रुपमा मनाउँदै आएका छन् । के हो त अन्तर्राष्ट्रिय महिला दिवस यसको जानकारीहरूः

यसको सुरुवात

अन्तर्राष्ट्रिय महिला दिवस आजभन्दा १ सय १२ वर्ष अघि अर्थात् सन् १९०८ बाट सुरु भएको थियो । त्यतिबेला अमेरिकाको न्यूयोर्क शहरमा करिब १५ हजार महिला सडकमा उत्रिएका थिए । अन्तर्राष्ट्रिय महिला दिवस वास्तवमा मजदुर आन्दोलनको उपज हो।

महिलाले कामको घण्टा, राम्रो तलब र भोट हाल्न पाउने अधिकारका लागि माग गर्दै प्रदर्शन गरिरहेका थिए ।महिलाको यो विरोध प्रदर्शनको एक वर्षपछि अमेरिकाको सोशलिस्ट पार्टीले राष्ट्रिय महिला दिवस मनाउने घोषणा गरेको थियो ।

महिला दिवसलाई अन्तर्राष्ट्रिय स्तरमा मनाउने विचार कसको थियो

क्लारा जेटकिनले सन् १९१० मा विश्व स्तरमा महिला दिवस मनाउने प्रस्ताव पेश गरेकी थिइन्। क्लाराले त्यतिबेला युरोपेली देश डेनमार्कको राजधानी कोपेनहेगेनमा कामकाजी महिलाको अन्तरराष्ट्रिय सम्मेलनमा उपस्थिती जनाएकी थिइन् । उक्त सम्मेलनमा त्यतिबेला सय जना महिलाको उपस्थिती थियो, जो १७ देशबाट आएका थिए । यी सबै महिलाले सर्वसम्मतिमा क्लाराको यो प्रस्तावलाई पारित गरेका थिए । पहिलो अन्तर्राष्ट्रिय महिला दिवस सन् १९११ मा अष्ट्रिया, डेनमार्क, जर्मनी र स्विटजरल्याण्डमा मनाइएको थियो । यसको शताब्दी समारोह सन् २०११ मा मनाइएको थियो । त्यसकारण यस वर्ष हामी १ सय १० औं अन्तरराष्ट्रिय महिला दिवस विश्वभर मनाइरहेका छौं ।

यस दिवसले औपचारिक मान्यता सन् १९७५ मा त्यतिबेला पायो जब संयुक्त राष्ट्र संघले यसलाई मनाउन सुरु गर्‍यो । अन्तर्राष्ट्रिय महिला दिवसलाई सन् १९९६ मा एउटा थीम अनुसार मनाइएको थियो । त्यतिबेला संयुक्त राष्ट्रले यसको थीम बनाएको थियो – ‘अतितको उत्सव, भविष्यको योजना ।’ यस वर्ष अन्तर्राष्ट्रिय महिला दिवसको थीम निश्चित गरिएको छ – ‘एक सशक्त विश्वमा समानतामा आधारित दुनियाँ ।’ यसमार्फत् महिला र पुरुषका लागि समान अधिकार सम्पन्न संसारको निर्माणमा सबै देशका समस्त नागरिकलाई अपिल गरिँदै छ।

संसारभरी अन्तरराष्ट्रिय महिला दिवस ८ मार्चमा मनाइन्छ ।यद्यपि, जब अमेरिकी महिला अधिकार अभियान्ता क्लारा जेटकिनले अन्तरराष्ट्रिय महिला दिवस मनाउने प्रस्ताव राखेकी थिइन् उनले यसका लागि कुनै दिन निश्चित गरेकी थिइनन् । जब सन् १९१७ मा रुसमा महिलाले ‘ब्रेड एण्ड पीस’ को माग गर्दै चार दिनसम्म हड्ताल गरे तब यसले औपचारिकता पायो ।

त्यसपछि रुसका बादशाह जार निकोलसले आफ्नो पद छोड्नु पर्‍यो । तसर्थ रुसमा बनेको अस्थायी सरकारले महिलालाई भोट गर्ने अधिकार दियो ।

जब रुसमा यो हड्ताल भएको थियो तब त्यहाँ जुलियन क्यालेन्डर चल्थ्यो । जसअनुसार उक्त दिन फेब्रुअरी २३ तारिख थियो । यस्तै, संसारका अन्य देशमा प्रचलित ग्रेगरियन क्यालेन्डरमा त्यो मार्च ८ तारिखको दिन थियो । त्यसकारण त्यतिबेलादेखि अन्तर्राष्ट्रिय महिला दिवस ८ मार्चमा नै मनाउन थालियो ।

अन्तर्राष्ट्रिय महिला दिवस कसरी मनाइन्छ

धेरैजसो देशमा अन्तर्राष्ट्रिय महिला दिवसमा राष्ट्रिय विदा हुन्छ र अभियान रूपमा मनार्इन्छ । चीनमा धेरैजसो महिलालाई ८ मार्चमा आधा दिनको छुट्टी दिइन्छ ।

इटलीमा अन्तर्राष्ट्रिय महिला दिवसलाई ला फेस्टा डेला डोनाको नामले मनाइन्छ । महिलालाई मिमोसाको फूल दिइन्छ । यो परम्पराको सुरुवात कसरी भयो, त्यो त स्पष्ट छैन तर दोस्रो विश्वयुद्ध पछि इटलीको राजधानी रोममा महिलालाई अन्तर्राष्ट्रिय महिला दिवसमा मिमोसाको फूल दिने चलनको सुरु भएको अनुमान गरिन्छ ।

अमेरिकामा मार्चको महिनालाई महिलाको इतिहासको महिनाको रुपमा मनाउने गरिन्छ । हरेक वर्ष यो दिन राष्ट्रपतिले एउटा आदेश जारी गरेर अमेरिकी महिलाको उपलब्धिको बखान गर्ने गर्छन्  ।

के पुरुष दिवस छ त?

अन्तर्राष्ट्रिय पुरुष दिवस नोभेम्बर १९ मा मनाइन्छ । यसको आयोजना सन् १९९० को दशकबाट सुरु भएपनि अहिलेसम्म यसले संयुक्त राष्ट्रबाट मान्यता भने पाएको छैन ।

यद्यपि, संसारभरी ६० भन्दा बढी देशमा मानिसहरुले अन्तरराष्ट्रिय पुरुष दिवस मनाउँछन् जसमा ब्रिटेन पनि समावेश छ । यस दिन ‘पुरुष र किशोरको स्वास्थ्यमा ध्यान दिनु, लैङ्गिक सम्बन्धलाई उत्कृष्ट बनाउनु, लैङ्गिक समानतामा जोड दिनु र समाजमा नकारात्मक भूमिका निभाउने पुरुषको प्रचार गर्नु ’ लगायतका मुद्दा उठाइने गरिन्छ ।

विश्वभरका महिलाले यो दिनलाई आफ्ना अधिकारको खोजी र विभेद विरुद्ध बोल्ने दिनको रुपमा लिने गरेका छन् । नेपालमा त्रिभुवन राजा बनेको दिन देखि यो दिवस मनाउन थालिएको हो । आज ११० औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । यस वर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ मूल नारा रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्