२८ भाद्र २०८१, शुक्रबार

“कोरोना नियन्त्रणमा कहाँ चुक्यो कर्णाली प्रदेश” !!

Khabarsabaiko बिहिबार, आषाढ ०४, २०७७

संजय कठायत सरिता बस्नेत

सन् २०१९ डिसेम्वर ३१ मा चिनको हुवान प्रान्तबाट सुरु भएको कोभिड–१९ कोरोना भाइरस संक्रमण ब्यापक रुपमा बिश्वभर फैलिए सँगै नेपालमा माघ महिनामा चिनबाट आएका एकजना ब्यक्तिमा देखिएको थियो । कोरोना भाइरस बिश्वभर फैलिने क्रम जारी भए सँगै नेपालको खुला सिमाना भएको छिमेकि राष्ट्र भारतमा पनि कोरोना भाइरस देखिए पछि नेपाल पनि अत्यन्तै कोरोना जोखिमको सूचिमा परेको हो । नेपालमा बढ्दो जोखिम भएकै कारण नेपाल सरकारले देशभर एकठाउँबाट अर्काे ठाउँमा जान रोक, एक ठाउँमा २५ जना भन्दा बढी जम्मा वा भेला हुन रोक, शैक्षिक संस्था बिद्यालय बन्द र प्रत्येक ब्यक्ति आफ्नो घर वा बसेको स्थानमा यथास्थितिमा रहने गरि २०७६ चैत्र १० गते देखि चैत्र १८ गते सम्म देश पुर्णरुपमा लकडाउनमा राख्ने घोषणा गरेको थियो ।

 

देश भित्र जो जहाँ भएपनि यथास्थानमा रहने र प्रत्येकले समाजिक दुरी कायम गर्ने निर्णयलाई बेवास्ता गर्दै जिल्ला सांसद वा स्थानिय निकायद्धारा नै आफ्ना जिल्लाका नागरिकलाई उद्धार गर्न रातारात गाडि रिजर्व गरि पठाइए । कुनैपनि निकायले आफ्ना नागरिक उद्धार गर्ने काम गलत थिएन, तर निकाय मार्फत भित्राइएका नागरिकको कोरोना संक्रमण अवधि १४ दिन सम्म क्वारेन्टाइन नराखि एउटा थर्मोगनका भरमा मात्र चेकचाज गरि घर पठाइनु कमजोरी हो ।

 

 

देशमा कोरोना संक्रमण संख्या दिन प्रतिदिन बढ्दै जाँदा संघीय सरकारद्धारा पटक पटक गरि सातौ पटक जेठको ३२ गते सम्म पुर्णरुपमा लकडाउन रहने गरि समय थप गरेको थियो, देश लकडाउन घोषणा गरेको लगभग तिन महिना पुगेको छ । कर्णाली प्रदेशमा पाँचौ लकडाउन जेठको १० गते सम्म कुनै पनि कोरोना संक्रमण नदेखिएको अबस्था भएपनि, छैटौ पटकको लकडाउनको पहिलो दिन एकै पटक ६ जनामा कोरोना संकमण देखिए सगै कर्णाली प्रदेश पनि कोरोना संक्रमणको जोखिमबाट टाडा रहन सकेन । यस सँगै कारोना संक्रमण हाल दिन प्रतिदिन औषत ५० देखि १०० जनाको हाराहारीमा संक्रमण देखिन थालेको छ । यसरी संक्रमणले तिब्ररुप लिएसँगै कर्णाली प्रदेश कोरोनाको उच्च जोखिमको सूचिमा पर्न गएको हो ।

देशभर कोरोना महामारिले तिब्ररुप लिइरहदा कर्णाली प्रदेशमा पनि यसको नियन्त्रण गर्न सकिरहेको अबस्था छैन । कोरोना भाइरस सहर केन्द्रित मात्र नभइ गाउँका दुरदराजमा फैलिदा यो रोगले महामारीकोरुप लिने संकेत सगै कोरोना नियन्त्रणमा झन चुनौती थपिएको छ । कोरोना भाइरसको संक्रमण पहिलो चरण सगै दोस्रो चरणमा पुगेको अवस्था छ । यसमा प्रदेश सरकार र स्थानिय सरकार नै नियन्त्रणमुखि ठोस योजना बनाउन सकिरहेको अबस्था छैन । देशमा बिदेशबाट आएका केहि ब्यक्तिमा कोरोना भाइरस देखिए सगै कर्णाली प्रदेशले आफ्ना प्रदेशका सबै नाका सिल गर्न नसक्नु कमजोरी हो । देशको खुला सिमाना सगै प्रदेश सरकारको फितलो नियमन र ब्यवस्थापनले छिमेकि राष्ट्र भारत र देशका अन्य जिल्ला ( नेपालगंज काठ्माण्डौ बुटवल पोखरा चितवनबाट यस प्रदेशमा हजारौ मानिसहरु दिनहाडै प्रबेश गर्दा प्रदेश सरकार प्रदेश र राजधानीमा रहेको जिल्ला प्रशासन मौन थियो । अर्काे तर्फ स्थानिय तहले गाउँपानिका वा नगरकालिकाका प्रदेश बाहिर वा छिमेकि राष्ट्रको सिमा नाकामा रहेका आफ्ना स्थायी बासिन्दाहरुलाइ उद्धार गर्ने होडबाजीनै चल्यो । त्यसैगरी यो असहज वातावरण सिर्जना गरिनुमा शासन सत्तामा रहेका राजनीतिक शासकहरुको पनि गल्ती रहेको छ । नेपाल सरकारले देश पुर्ण लकडाउन गरि देश भित्र जो जहाँ भएनि यथास्थानमा रहने र प्रत्येक ब्यक्तिने भौतिक वा समाजिक दुरी कायम गर्ने निर्णयलाई ब्यवास्था गर्दै जिल्ला सांसद स्थानिय प्रतिनिधिद्धारा नै आफ्ना जिल्लाका नागरिकलाई उद्धारको नाममा रातारात गाडि रिजर्व गरि पठाइए । कुनैपनि निकायले आफ्ना नागरिक उद्धार गर्ने काम गलत थिएन, तर प्रदेश वा गाउँपालिका÷नगरपालिका भित्र ल्याइसकेका आफ्ना नागरिकको ब्यावस्थापन गर्न नसक्नु वा भित्राइएका नागरिकको कोरोना संक्रमण अवधि १४ दिन सम्म क्वारेन्टाइन नराखि र एउटा थर्मल गन भरमा मात्र चेकचाज गरि घर पठाइनु यसमा ठुलो लापरबाहि थियो ।

कोरोना भाइरस महामारीको चपेटामा परेको बिश्वको शक्तिशाली राष्ट्र अमेरीका, इटली, स्पेन लगायतका देशले आवतजावत र मानिसको जमघट जस्ता साना गल्तीका कारण ठुलो महामारीको संकट झेल्नु परेको दृश्य हामि माझ ताजा नै छ । यसरी बाहिरबाट उद्धार गरि ल्याइएका यात्रुहरु सवारी साधनमा ठेलमठेल गरेर ओसारपसार गरिरहदा पनि ट्राफिक प्रहरी, सुरक्षाकर्मि र सम्बन्धीत निकाय पनि बेखवर थिए । एक ब्यक्तिमा कोरोना भाइरस प्रबेश गरे सगै सवारी साधनमा यात्राकै क्रममा कोरोना भाइरस एक ब्यक्तिबाट अर्काे ब्यक्तिमा संक्रमण फैलिएको अनुमान गर्न सकिन्छ । यस अबस्थामा कर्णाली प्रदेशलाइ क्वारेन्टाइन ब्यवस्थापन, त्यहाँ जनशक्तिको परिचालन, पर्याप्त श्रोत साधन , कोरोना परिक्षण गर्ने किट र स्वाब संकलन जस्ता ब्यवस्थापनमा समस्या देखिन थालेका छन । यो समस्या निम्तिनु यस प्रदेश भित्र पुर्वतयारीको कमिले हो । यस सँगै स्वदेश बिदेशबाट आउने आफ्ना आफन्त र अपरिचित ब्यक्तिहरु सँग बोल्न, भेटघाट गर्न, एक अर्काबिच हच्किनु पर्ने अवस्था सिर्जना हुदा यसले समाजमा मनोबैज्ञनिक असर पनि परेको छ ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन दोब्वरले बढ्दै गर्दा कोरोनाका कारण मर्नेको संख्या पनि ३ पुगेको छ । सो संक्रमित संख्या र मृत्यु दर बढ्दा लाग्छ उपचार गर्न सहज वातावरणको कमि हुन थालेको छ । जुन कारण हो समयमा पर्याप्त क्वारेन्टाइन ब्यावस्थापन, स्वास्थ्य चौकि वा क्वारेन्टाइन स्थलमा सावधानिकता अपनाउने पर्याप्त सामाग्री ( माक्स, सेनिटाइजर, पिपिइ र भ्यान्डिलेटर आदिको ब्यवस्थापन गर्न नसक्नु । पर्याप्त श्रोत साधन बिना कोरोना नियन्त्रणमा खटिने निकाय र स्वास्थकर्मिलाई बिना हतियार युद्ध मैदानमा खटाइयो ।

यस अवस्थामा नागरिकमा परेको मनोबैज्ञानिक असरलाई कम गर्न स्थानिय तह लगाएतका निकायले बिशेष प्रभावकारी भुमिका खेल्न पर्छ । देश बिदेश वा प्रदेश भित्रको आवतजावत लाई नियन्त्रण गर्ने, बाहिर बाट आएका जुनसुकै ब्यक्तिलाई नियन्त्रणमा लिइ १४ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राखि पिसिआर वा आरडिटि परिक्षण गरिन पर्दछ । गाउँ समाजमा रहेका संकादपद ब्यक्तिको स्वाब संकलन गर्ने, गाउँघरमा रहेका क्वारेन्टाइनको ब्यवस्थापन र पिसिआर वा आरडिटि परिक्षण दायरा ब्यापक बनाउने कार्यलाइ अगाडी बढाउने र मानिसका दैनिक हरेक गतिबिधिमा सुधार गर्न जनचेतनामुलक कार्यक्रमलाई अझ ब्यापक र प्रभावकारी बनाउने, ताकि कोरोना संक्रमित ब्यक्तिबाट अन्य वरिपरीका ब्यक्तिहरुमा सहजै सर्न नपाओस् । हाल संघीय सरकारले केहि मापदण्ड र सर्तका साथ लकडाउनलाई केहि खुकुलो पारेको छ । कोरोना जोखिम कम भएका स्थान वा जिल्लामा सोहि सर्त पालना गरि अगाडि बढ्नु आजको आवश्यकता हो । कोरोना भाइरस ब्यापक फैलिएका ठाउँमा भने पुर्ण लकडाउन कायमै राख्न पर्दछ । कोरोना भाइरस गाउँका दुर दराजाम धेरै मात्रामा फैलिएको हुदा कोरोना रोकथाम नियन्त्रण गर्न सहर केन्द्रित भई योजना कार्यक्रम बनाउन तिर हैनकि गाउँका दुर दराजमा फैलिएको कोरोना नियन्त्रणमुखि कार्यक्रम बनाउन आवश्यक छ । यो कोरोना भाइरस महामारीको बिषम् परिस्थितिमा कर्णाली प्रदेश भित्र रहेका स्थानिय निकाय, जिल्ला प्रशासन र प्रदेश सरकारले सहकारीता, सहअतित्व र समन्वय मार्फत कोरोना महामारी नियन्त्रयमा एकरुपताका साथ अगाडी बढ्नु आजको आवश्यकता हो ।

यहाँ कमेन्ट गर्नुहोस्